वर्षदिन लगाएर कोरिएको एउटा चित्र थप सामग्री : Himalkhabar.com

कलाकार समुन्द्रमान सिंह श्रेष्ठले एक वर्ष लगाएर कोरेको गौतम बुद्धको चित्र नौलो त छ नै दर्शकले पनि प्रशंसा गरिरहेका छन्।

सुनौलो पहिरनमा ध्यानमग्न बुद्ध। हत्केलाबाट मणि निस्किएर चराझै उडिरहेको दृश्य। असंख्य मणिझै लाग्ने ज्ञानको प्रवाह छोप्न धुँडा टेकेर बुद्धको अगाडि ध्यानमग्न बज्रवाहिनी (भैरव)। बज्रवाहिनीसँगै बुद्धका वाणी श्रवण गर्न लालयित देवीदेवता।

बुद्धका हत्केलाबाट निस्केका मणि शक्तिशाली ज्ञानकुञ्ज जस्तै देखिन्छन्। जसलाई धारण गरेर असंख्य देवीदेवता धन्य भए जस्तै लाग्छन्। ध्यानमग्न लाग्ने शान्त र सुन्दर परिवेश मनमोहक पनि छ।

यो अद्भूत दृश्य ‘नमसंगिति’ कलाकृतिको हो। जसलाई कलाकार समुन्द्रमान सिंह श्रेष्ठ (४२) ले क्यानभासमा उतारेका छन्। समुन्द्रमानको यो कलाकृतिमा पात्र, रंग संयोजन र चित्रको निपूर्णताले त्यहि वरिवेशमा समाहित भएको अनुभूति गराउँछ।

काठमाडौंको ठमेलस्थित ‘म्युजियम अफ नेपाली आर्ट (मोना)’को हल समुन्द्रमानले कोरेका यस्तै मनमोहक कलाकृतिले सजिएको छ। उनले १० वर्षको उमेरदेखि बनाएका केही कलाकृति पनि मोनामा राखिएका छन्। यससँगै २०७२ सालको भूकम्पपछि कोरिएको ‘त्रिकादुनाथ भूकम्प सेरिज’ पनि यो प्रदर्शनीमा अटाएका छन्।

प्रदर्शनीमा राखिएका दुई दर्शन कलाकृतिमध्ये नवसंगिति भने धेरै मेहेनतपछि तयार भएको हो। यसप्रतिको लगाव दर्शाउँदै उनी भन्छन्, “आफूले बनाएका चित्रहरू सबै प्रिय हुँदाहुँदै पनि कुनै विशेष बन्दो रहेछ। यो चित्र बनाउँदा ‘डिभाइन भाइब’ उत्पन्न भयो।” वुद्धका ३२ गुण र ८० अनुव्यञ्जनमध्ये नवसंगितिमा दुई-चार गुण देखाउन सकेको भए पनि आफ्नो कलाकारिताले पूर्णता पाएको ठान्छन् उनी।

कस्तो चित्र बनाउने भन्ने निधारण गर्न चित्रकारको इच्छा पहिलो कडीका रुपमा लिन्छन् उनी। त्यहि इच्छा र थपिएको महत्वाकांक्षाले आफूले कोरेका चित्रमध्ये अहिलेसम्मकै ‘बेस्ट’ चित्र तयार भएको उनी बताउँछन्। जसलाई प्रदर्शनीमा दर्शकले पनि खुब रुचाएका छन्। यो चित्र कोर्नुअघिको अनुभूति सुनाउँदै समुन्द्रमान भन्छन्, “मैले सबैभन्दा धेरै मूर्ति देखेको भगवान बुद्धकै होलान। तिनैमध्ये नयाँ शैलीमा कोर्न मन लाग्यो।”

यो कलाकृति बनाउनका लागि उनले अध्ययन गर्ने क्रममा ‘नामसंगति’ पुस्तक भेटे। जहाँ गौतम वुद्धले बज्रवाहिनीलाई पञ्चज्ञानको धर्मोपदेश दिएको पढे। जसमा बुद्धले आफ्ना भिक्षुगणलाई मात्र नभई राक्षसदेखि गन्धर्व किन्नरकिन्नरी र जनावरलाई समेत धर्मज्ञान दिएको प्रसङ्ग छ। समुन्द्रमानले ठाने- अब यही कथालाई चित्रमा उतार्छु।

यसका लागि उनले २०७५ सालमै काम थालेका थिए। बुद्धका गुणअनुसार, रंग संयोजन गरेर चित्रलाई आकार दिन एक वर्ष लागेको उनले बताए। जसका लागि उनले ३६५ दिन नै काम गरेका थिए।

समुन्द्रमानले यसमा परम्परागत पौभाशैलीसँगै आफ्ना भावना पनि मिसाए। केही फरक गर्न खोजे। “चित्रका पात्र र उनीहरूको चरित्रसँग कलाकार पनि डुब्नुपर्छ। नवसंगितिमा म पनि वुद्धको स्वरुप र गुणमा त्यसैगरि डुबे,” उनी भन्छन्।

यो चित्र कोर्नअघि उनी विभिन्न गुम्बामा ध्यान गर्न गएका थिए। त्यसैले आफूलाई अध्यात्मताको बाटोतिर डोर्‍याउन प्रेरित गर्ने चित्रको रुपमा पनि यसलाई लिन्छन् समुन्द्रमान। “ध्यान, अध्यात्म, सच्चाई, फरकशैली र मेहेनले गर्दा यसलाई बुद्धका अन्य चित्रभन्दा फरक बनाएको छु,” उनी भन्छन्।

नेवार समुदायको मौलिक चित्रकलामा रुपमा रहेको पौभा चित्रकलामा उनी दख्खल राख्छन्। काठमाडौंको रक्तकालीमा हुर्केका समुन्द्रमानले बाल्यकालदेखि नै घरआँगनमा अनेक जात्रापर्व देखे। जस्तो जात्रापर्व देख्थे, त्यस्तै चित्र उर्ताने प्रयास गर्थे। १० वर्षकै उमेरमा दुर्गा, लक्ष्मी, भैरव, कुमारी लगायतका चित्र बनाउन थालिसकेका थिए।

गाईजात्रा, इन्द्रजात्रा, कुमारीजात्रा, लाखे नाच, मच्छिन्द्रनाथ जात्रा उनका चित्रका पात्र बन्थे। देवीदेवाका चित्र कोर्दाकोर्दै पौभा चित्रकला उनको विधा नै बन्यो। “बाल्यकालमा जात्राहरूमा भगवान मात्र देखेर बनाउन थाले,” समुन्द्रमान सम्झिन्छन्, “हुर्किँदै गएपछि गुम्बा, मठमन्दिर चहारे। त्यसले झन रुचि बढायो।”

उनी पौभा चित्रकलाममै भविष्य खोज्न थाले। त्यसलाई परिस्कृत गर्न ललितकला क्याम्पस भर्ना भए। ललितकला क्याम्पसको बढाइले उनको चित्रकलामा थप निखार ल्यायो।

समुन्द्रमान पौभाका मुल तत्व र दर्शनलाई जोगाउँदै परम्परागत शैलीभन्दा फरक चित्र कोर्छन्, जसमा आफ्नो भावना पनि पोखियोस्। “ठीक परम्परागत पौभा पनि हैन र पूरै फरक शैली पनि हैन,” उनी भन्छन्, “यो शैलीलाई निओपौभा (नवपौभा) भन्न सकिन्छ।”

यो शैलीले उनका कलाकृतिलाई पृथक बनाएको छ। त्यहि पृथकपनको पहिचान गरेर नेपाल ललितकला संस्थानले १८ वर्षकै उमेरमा २०५४ सालमा राष्ट्रिय पुरस्कार प्रदान गरेको थियो। “कलिलै उमेरमा राष्ट्रिय पुरस्कार पाएकाले धेरैले पत्याएकै थिएनन्,” उनी त्यो समय सम्झिँदै भन्छन, “त्यस समय कलाकार भनेको उमेर पुगेको, अझ पौभा, थान्का चित्र बनाउने त बुढो मान्छे मात्र हुन्छन् भन्ने मानसिकता थियो।”

राष्ट्रिय पुरस्कारपछि भने उनको व्यावसायिक यात्रा शुरू भयो। त्यसअघि आफूले बनाएका चित्र बोकेर पाटन र भक्तपुरका गल्लीगल्ली चहार्थे। “कहलिएका कलाकारका मात्रै चित्र किन्ने चलन थियो। पुरस्कार पाएपछि म पनि चिनिएँ, सजिलो भयो,” उनी सुनाउँछन्।

त्यससँगै उनले कलाकारितामा  निपूर्णता ल्याउन र एकाग्र हुन ध्यानतिर लागे। श्रीधरराणा रिम्पोछेलाई गुरू थापेर विशालनगरस्थित बौद्ध गुम्बामा ध्यानमग्न हुन थाले। त्यसले कलाकृति भावना पनि हो भन्ने अनभूत गराएको उनी बताउँछन्। “चित्र त हिमाल र चन्द्रमा जस्तो हुनुपर्ने रहेछ, जसको वर्णन अंक र अक्षरले होइन, भावनात्मक रुपले होस्।”

अहिले मोनामा चलिरहेको उनको दोस्रो प्रदर्शनी हो। पाँच वर्षअघि ‘इम्बेडिड इन्लाइटमेन्ट’ शीर्षकमा प्रदर्शन भएको थियो। यसअघि प्रदर्शन नभएका उनका कलाकृति यसपटक हेर्न पाइनेछ।

‘चित्र किन्न पैसा होइन, मन चाहिन्छ’

आफूले बनाएको चित्र नबिक्दाको क्षणदेखि सयौँ प्रयासमा पनि चित्र बन्न नसकेको दिनहरु बाँचेका छन, समुन्द्रमान।  

दोस्रो चित्रकला प्रदर्शनी गर्न पाउँदा उनी मख्ख छन्। प्रदशनी हुनु भनेको कलाकारले परिचय पाउनु र आम्दानी सुदृढ हुनु हो। जुन हरेक कलाकारको चाहना हुने उनी बताउँछन। तर, नेपालमा प्रदर्शनी गर्ने वातावरण नभएको भने उनी खिन्नता प्रकट गर्छन्। “वषौँ लगाएर बनाएका चित्रकला न प्रदर्शनीमा राखिन्छन्, न त आम मानिसले खरीद गर्छन्,” उनी भन्छन्।

प्रायः चित्रलाई लाखौं रुपैयाँ पर्छ र त्योे धनाड्य तथा विदेशीले मात्र खरीद गर्छ भन्ने आम धारणा रहेको उनी सुनाउँछन्। खासमा त्यस्तो नभएको उनी  बताउँछन्। “भित्तेपात्रो राखेको ठाउँमा पाँच सयको चित्र राख्न सकिन्छ,” समुन्द्रमान भन्छन्, “साच्चिकै चित्र किन्न पैसा हैन, मन चाहिन्छ, मन।”

अर्को आम नागरिकको पहुँच हुने गरी सार्वजनिक प्रदर्शनी गर्ने सरकारी संग्रहालय नभएको उनको उनको गुनासो छ। कलाकारलाई प्रोत्साहन गर्न र कलाकृतिलाई आम नागरिकको पहुँचमा पुर्‍याउन पनि सार्वजनिक प्रदर्शन गर्न सकिने ठाउँ चाहिने उनको भनाइ छ।

चित्रकला क्षेत्रमा नयाँ पुस्ता आगमन उत्साहजनक छ। उनीहरूलाई टिकाइराख्न केही निजी क्षेत्रका संग्रहालयले मात्रै नपुग्ने उनी बताउँछन्।

चित्रले के दिन्छ?

प्रायः आम मान्छेले चित्रले के दिन्छ भन्ने प्रश्न गर्छन्। यस्तो प्रश्न उलने पनि पटकपटक सुनेका छन्। “चित्रले मान्छेलाई नाफा-घाटाको गणितीय जीवनभन्दा पर मानवियता र भावनात्मकतातिर डोर्‍याउँछ,” समुन्द्रमान गम्भीर हुँदै बोल्छन्।

सामान्यतया चित्र काव्यात्मक हुन्छन्। केही फुटकर कविता जस्ता पनि। यि दुवैले चित्रको सतहभन्दा मूनि गहिरो अर्थ के होला भनी मान्छेलाई जिज्ञासु र सोच्ने बनाउँछ। अर्थात् चित्रको अर्थ सङ्केतमा लुकाइएका हुन्छन् र तिनलाई बुझ्न रंगहरूसँग सामिप्यता बढाउने उनको भनाइ छ।

कलाकार समुन्द्रमान सिंह श्रेष्ठ।
क्लाकार समुन्द्रमान भन्छन्, “ चित्रलाई भौतिकवादकै प्रतिबिम्ब माने पनि यसले आध्यात्मिकतातिर डोर्‍याउँछ, आफैलाई चिन्न सहज बनाउँछ।”

आफ्ना कलाकृतिले पनि अध्यात्म र ध्यानको मार्गमा डोर्‍याइरहेको उनीको अनुभूति छ। आम मान्छेलाई भने उनका कलाकृतिले कता डोर्‍याउलान? त्यसको परख लिन भने ठमेलस्थित म्युजियम अफ नेपाली आर्ट (मोना) नै पुग्नुपर्छ।
थप सामग्री : https://www.himalkhabar.com/news/128416


About an Artist

Samundra Man Singh Shrestha

Email: artsamundra@gmail.com
© Copyright 2022 Museum of Nepal Arts. All Rights Reserved.