समुद्रमानको ३० वर्षको मेहनत झल्किने चित्रकला प्रदर्शनी - Onlinekhabar.com

७ फागुन, काठमाडौं । भनिन्छ, कलाकारहरू कला सिर्जनामा स्वतन्त्र हुन्छन् । तर ती स्वतन्त्र कलाकारले नारायण भगवानको पेन्टिङ बनाउँदा रक्त वर्णको बनाइदिए भने त्यसले के अर्थ बोक्ला ? जुन देख्दा आकर्षक र कलात्मक त देखिएला तर त्यसको गलत अर्थ लाग्न सक्छ । साथै, एउटा कलामा पारंगत कलाकारले पनि त्यसलाई चिन्न सक्दैनन् । सिंगो मूर्ति कलात्मक हुँदाहुँदै पनि त्यो कला अर्थहीन बन्न पुग्छ ।

यही चुनौती हुन्छ शास्त्रीय कला साधनामा । यसमा केवल क्यानभासमा चित्र कोर्ने अभ्यास र कोरा कल्पनाबाट जुटेको सिर्जनाले मात्रै कला पूर्ण हुँदैन । सबैभन्दा धेरै शास्त्रीय मान्यता हुन्छ, रुपमण्डन र विष्णुधर्माेत्तर पुराणको प्रतिमा लक्षणको विधान अनुसार हुबहु बनाउनुपर्ने हुन्छ । त्यसैले सामान्य देखिंदादेखिंदै पनि यो विशेष, संवेदनशील र कठिन छ ।

ठमेलस्थित काठमाडौं गेस्ट हाउसको भवनभित्र अवस्थित नेपाली कला संग्रहालयभित्र यस्तै विशेष चित्रहरूले भरिएको प्रदर्शनी चलिरहेको छ । जसमा प्रख्यात कलाकार समुद्रमान सिंह श्रेष्ठको अनुपम कीर्तिहरु सजिएका छन् । त्यही एउटा संग्रहालयभित्र धर्मशास्त्रको एउटा शाखा लुकेको छ । त्यहींभित्र श्रेष्ठले जीवनको विभिन्न कालखण्डमा सिर्जना गरेका कलालाई सजाइएको छ ।

डेढ दर्जन पेन्टिङ र स्केचसहित झण्डै चार दर्जन कला समेटिएको उनको प्रदर्शनीको अन्तिम-अन्तिमतिर एउटा भैरव कुमारीको पेन्टिङ छ । त्यसलाई देखाउँदै श्रेष्ठ भन्छन् ‘यो पेन्टिङ पूरा गर्न मलाई दुई वर्ष लाग्यो ।’ त्यसको लागि उनले छुट्टै साधना गर्नुपरेको सुनाउँछन् ।

त्यसको पृष्ठभूमिमा जुन तलेजुको मूलचोकको आकृति छ त्यो नवमीको दिन मात्रै प्रवेश गर्न पाइने ठाउँको चित्र हो । त्यो ठाउँमा तस्वीर लिन अनुमति छैन । त्यसको लागि सन् २००६ मा उनले हरेक नवमीको दिन आफैं गएर त्यसलाई क्यानभासमा उतारेका थिए । ‘यहाँ एक सातामा तयार पारेको पेन्टिङदेखि दुई वर्षसम्म लगाएर बनाएकोसम्म पेन्टिङ भेटिन्छ,’ उनी भन्छन् ।

फरक कला पस्किने प्रयास

एउटा कुशल कलाकारले तयार पारेको सुन्दर कलासहित शनिबारबाट कला प्रदर्शनी सम्पन्न हुँदैछ । फेब्रुअरी ६ देखि सुरु भएको प्रदर्शनी शनिबार सम्पन्न हुन लागेको श्रेष्ठ बताउँछन् । तर यो अन्य प्रदर्शनीभन्दा विशेष र फरक छ ।

सामान्यतया बजारमा पाइने पेन्टिङ तथा मूर्तिहरुमा हरित तारालाई अर्धपर्यङ्कासन र वदरमुद्रामा देखाउने चलन छ । तर संग्रहालयमा संग्रहित पेन्टिङमा नृत्याकार शैली प्रस्तुत गरिएको छ । यो कसरी विधानसम्मत भयो त ? भन्ने प्रश्नमा श्रेष्ठ भन्छन् ‘यो मौलिक शैली हो, तर यसमा शास्त्रीय मान्यतालाई उपेक्षा गरिएको छैन । चर्या नृत्यमा स्टेजमा विभिन्न भावभंगीमा नृत्य गरिरहेकी हरित तारालाई देखाउने गरिएको छ । त्यसरी डान्स गर्न मिल्छ भने यस चित्रमा उतार्न पनि त सकिन्छ भन्ने लागेर चित्र बनाएको हुँ ।’

उनी मौलिक शैलीको नाममा हरित तारालाई रक्त वर्णको बनाउने वा शास्त्रीय मान्यतामा छेडखानी गर्न भने नमिल्ने उनी बताउँछन् ।

त्यस्तै, पञ्चध्यानी बुद्धलाई पनि उनले फरक तरिकाले प्रस्तुत गर्ने प्रयास गरेका छन् । अरुले मूर्तिसहित पाँच ध्यानी बुद्धको प्रतिमा प्रस्तुत गर्ने गरेकोमा उनले हातको मुद्राको आधारमा मात्रै पञ्चध्यानीलाई चिनाएका छन् । यसरी उनले प्रदर्शनीमा आफ्नो फरक खाले कलालाई पस्किएका छन् ।

३० वर्षको मेहनत एउटै प्रदर्शनीमा

श्रेष्ठ प्रदर्शनीमा आफ्नो ३ दशकदेखिको साधना समेटिएको बताउँछन् । ‘यहाँ २०४८ सालदेखि मैले कोरेको कला समेटिएको छ,’ उनी भन्छन्, ‘त्यहाँ १२ वर्षको उमेर हुँदा बनाएको चित्र पनि भेटियो । जसले जीवनको विभिन्न कालखण्डमा मेरो चित्रकलामा कसरी परिवर्तन हुँदै गयो भन्ने कुरालाई पनि जनाउँछ ।

सानै उमेरदेखि नै उनी चित्रकलामा रुचि राख्ने स्वभावका थिए । देवदेवीका मूर्तिप्रति धेरै शोख थियो, बिस्तारै आफूलाई आइडल लाग्ने पात्रलाई चित्रमा उतार्न थाले । त्यही दृढ इच्छाले उनलाई एउटा कुशल कलाकारको रुपमा स्थापित गरायो । २०५८ सालमा इन्द्रजात्राको पूरै सिन समेटेको एउटा सामग्री तयार पारे । क्याम्पस पढ्दै गर्दा बनाएको त्यो कलाले उनलाई झनै यस क्षेत्रमा बढी सक्रिय भएर लाग्न हौसायो ।

उनी भन्छन्, ‘मैले एउटै विषयलाई फरक कालखण्डमा त्यसको शैलीमा परिवर्तन गरेर चित्र कोर्ने गर्छु । ह्वाइट तारा सन् २००६, २००८, २०१७ र २०२१ मा बनाएँ । तर त्यो विषयवस्तु एउटै थियो, तर त्यसको प्याट्रन फरक थियो ।’ उनले ती सबै चित्रहरु अहिले प्रदर्शनीमा राखेका छन् । त्यो कलाप्रेमी र यही क्षेत्रका विद्यार्थीहरुको लागि केन्दि्रत गरेर तयार पारिएको उनी बताउँछन् ।

कौशल र अभ्यासबाट मात्रै बन्छ उत्कृष्ट चित्र

एउटा कुशल चित्र बनाउन के चाहिन्छ ? यो धेरैलाई चासोको विषय बन्न सक्छ । कौशलले मात्रै हुने हो भने एउटा राम्रो चित्र मनमा फुराएको मान्छेले किन चित्र कोर्न सक्दैन त ? फेरि अभ्यासले मात्रै हुने हो भने जो कसैले किन शास्त्रीय चित्र बनाउन सक्दैन त ? यही जिज्ञासालाई चिर्दै श्रेष्ठ भन्छन् ‘कौशल -दक्षता), अभ्यास र सिर्जनाशक्ति तीनै थोकको समिश्रणबाटै एउटा उत्कृष्ट चित्र बन्छ । यसको लागि लामो साधना चाहिन्छ ।’

प्रदर्शनीमा रहेको ‘ब्लेसिङ बुद्ध’ देखाउँदै उनी भन्छन् ‘यो मूर्ति मैले एक वर्ष लगाएर बनाएको हुँ । एउटा पेन्टिङलाई पूर्ण तयार पार्न ६ महिना, एक वर्ष र २ वर्षसम्म लगाएको छु । जसमा धर्म दर्शनको कुरा, हात, आयुध, अंगप्रत्यंग, भावभंगी, रुप अलंकार सबै बुझेर गर्नुपर्छ ।’

एउटा चित्र बनाउँदा सानो गल्तीले पनि मान्छेको भावनामा असर गर्ने भएकाले शास्त्रीय निर्देश बमोजिम बन्ने यस्ता कला अरुभन्दा बढी चुनौतीपूर्ण मानिन्छन् । तर श्रेष्ठले सानै उमेरदेखि यही चुनौतीपूर्ण पेशालाई अपनाए । उनी आफू सिद्धहस्त कलाकार दीपककुमार जोशीबाट प्रभावित भएको बताउँछन् । तर भगवान देख्दा नै शितलताको अनुभव हुने भएकाले यही क्षेत्रमा रस बसेको हुन सक्ने उनी बताउँछन् ।


About an Artist

Samundra Man Singh Shrestha

Email: artsamundra@gmail.com
© Copyright 2022 Museum of Nepal Arts. All Rights Reserved.