परम्परागत कलामा आफ्नै पहिचान बनाएका समुन्द्रमान सिंह श्रेष्ठ - Janamatsahitya.com

परम्परागत कलामा आफ्नो छुटै पहिचान बनाएर अघि बढी रहेका कलाकार हुन्, समुन्द्रमान सिंह श्रेष्ठ । सानैदेखि परम्परागत कलामा आकर्षित भै लागिपरेका समुन्द्रले कन्टेम्परी आर्टलाई पनि संगै लगिरहेका छन् । पौभा चित्रकलाका माध्यममा उनी धर्म, दर्शन र शास्त्रका पक्षलाई उठान गर्छन् र आफ्नोपना मिसाइ समय र कल्पनाशीलताको फरक शैली क्यानभासमा उतार्छन् । परम्परागत चित्रकलामा आधुनिक शैलीको प्रयोग गर्न रुचाउने चित्रकार श्रेष्ठको एकल चित्रकलाहरु काठमाडौं गेष्ट हाउसको म्युजियम अफ नेपाली आर्टसमा प्रदर्शनी भइरहेको छ । परम्परागत कलाको एकल कला प्रदर्शनी नेपालमा विरलै भएको पाइन्छ । एउटै चित्र बनाउन बर्षौ लाग्ने र धेरै चित्र बनाई एकल प्रदर्शनी गर्नु निकै कठिन काम हो ।

२०४८ देखि हालसम्म सिर्जना गरिएका उनका चित्रकलाले समय र उतिबेलाको समाजको बयान गरेको छ । संग्रहालयमा प्रवेश गर्नेबित्तिकै बायाँतर्फ भित्ताका चित्रहरूले उनको कला यात्राको प्रारम्भिक समयको झल्को दिन्छ । शुरुवाटी समयमा चित्र कोर्ने रक्तकालीको पुरानो घर देखि शुरुवाटी कामहरु पनि प्रदर्शनीमा राखिएको छ । उनी भन्छन्, आज मान्छे जहाँ पुगे पनि आफ्नो विगतलाई भुल्नु हुदैंन ।

परम्परागत शैलीलाई आधुनिक शैलीसंग मिसाउदै चित्रकला बनाउन रुचाउने समुन्द्रमान एउटै विषयवस्तुलाई फरक तरिका र फरक शैलीमा प्रस्तुत गर्नु उनको विशेषता हो र उनलाई एउटै विषयमा फरक फरक ढंगले बारम्बार काम गरिरहन मन पर्छ ।

समुन्द्रमान भन्छन् ‘ मैले एउटै विषयलाई फरक कालखण्डमा त्यसको शैलीमा परिवर्तन गरेर चित्र कोर्ने गर्छु । पात्र उही भए पनि समयअनुसार सिर्जना गरिएका चित्रहरूमा शैलीगत रूपमा फरकपना आउँछ । श्वेत तारा सन् २००६, २००८, २०१७ र २०२१ मा बनाएँ । तर त्यो विषयवस्तु एउटै थियो, तर त्यसको प्याट्रन फरक थियो ।’ जसमध्ये सन् २०१७ मा बनाइएको श्वेत ताराको सम्पूर्ण लक्षणहरु युक्त परम्परागत शैलीमा बनाइएको चित्र रहेको छ । त्यस्तै अर्को चित्रमा उहि तारालाई थोरै गहना र फुलहरुको लहरा दिइ सरलीकृत गरि बनाएको चित्र देख्न सकिन्छ । त्यस्तै अर्को चित्रमा भुँइचालोको समयमा चित्रहरु विग्रदा कस्तो स्वरुपमा आउछ भन्ने कुरालाई जीवन्त रुपमा प्रस्तुत गरेका छन् ।

प्रदर्शनीमा भुइचालो शीर्षक दिइएको एक चित्र पुरानो भित्तामा बनाइएको चित्र जस्तो देखिने गरी क्यानभासमा उतारिएको छ । जुन चित्र पुरा गर्न उनलाई करिब ४ वर्ष लागेको बताउँछन् । उक्त चित्र मध्ये पहिलो चित्रमा मञ्जुश्री बिचमा लाकेश्वर र छेउमा बज्रपाणीकोे चित्र समावेश भएको छ भने उक्त चित्र मानिसहरुको लागि आकर्षणको केन्द्र बन्न सक्छ ।
प्रदर्शनमै रहेको अर्काे चित्रमा भैरवको रौद्र रुपलाई शान्त गर्नको लागि कुमारीले बध गरिएको महिषको रक्त राखि भैरवलाई रक्त पान गराउदै रिस शान्त पार्न खोजिएको प्रयासलाई देखाउन खोजिएको छ ।

त्यस्तै, पञ्चध्यानी बुद्धलाई पनि उनले फरक तरिकाले प्रस्तुत गर्ने प्रयास गरेका छन् । मूर्तिसहित पाँच ध्यानी बुद्धको प्रतिमा प्रस्तुत गर्ने गरेकोमा उनले हातको मुद्राको आधारमा मात्रै पञ्चध्यानीलाई चिनाएका छन् ।

समुन्द्रमानको अर्काे चित्रमा बज्रयोगिनीको अर्ध क्रोध मुद्रामा रहेको चित्र प्रदर्शनीमा राखिएको छ । बज्रयोगिनीलाई हरित ताराको अर्ध क्रोधित रुपको रुपमा पुजिन्छ ।

‘ब्लेसिङ बुद्ध’  उनको अर्काे पेन्टिङ हुन् । जुन देखिरहेका बुद्धको चित्रहरु भन्दा फरक छन् । उनले धेरै भगवान बुद्ध सम्बन्धि पुस्तकहरु पढे । उनले अध्ययन गर्ने क्रममा ‘नामसंगति’ पुस्तक भेटे। जहाँ गौतम वुद्धले बज्रपानीलाई पञ्चज्ञानको धर्मोपदेश दिएको पढे। जसमा बुद्धले आफ्ना भिक्षुगणलाई मात्र नभई राक्षसदेखि गन्धर्व किन्नरकिन्नरी र जनावरलाई समेत धर्मज्ञान दिएको प्रसङ्ग छ। समुन्द्रमानले सोचे- अब यही कथालाई चित्रमा उतार्छु।
बुद्धले बज्रपानीलाई दिएको उपदेशले तान्यो जसमा बज्रपानी भैरबलाई मायाजाल, तन्त्रमन्त्रको उपदेश दिएको कुराहरु थिए । जुन उनले सन् २०१९ मा स्केच गरेका थिए । पाटनमा हरेक वर्ष एक महिना नामसंगतिको पाठ हुन्छ । बज्रपानी भैरबलाई नामसंगतिको पञ्च ज्ञान भनेर पाँचवटा ज्ञानको उपदेश दिइ रहन भएको । लिपी र शब्दावलीले मात्रै नपुगेर बुद्धले रुप, लक्षण नै सिर्जना गरि दिएको छ । बुद्धले रुपै सिर्जना गरेर बज्रपानी भैरवलाई सम्झाउनु भएको धारणामा उनले सो चित्र बनाएका हुन् ।
चित्रको ब्याकराउण्डमा रहेका बोधीसत्वहरु बुद्धको उपदेश सुन्न बसेका हुन् । समुन्द्र भन्छन् , देव, गन्धर्व, यक्ष, राक्षस लगायत सबै बुद्घको बचन, धर्म देशनाहरु सुन्न लालयित हुन्छ । त्यही कन्सेप्टलाई उतारेका हु । अप्प दीपो भव!! भने झैं आफ्नो दिप आफै बाल भनेर पेन्टिङमा दिपहरु र पञ्च इन्द्रियलाई सिम्बोलका रुपमा पनि राखेको हु ।

समुन्द्रमानले यस प्रदर्शनीमा आफुले चित्रहरु क्यानभासमा उतार्नु अघि बनाइएको खेस्राहरु समेत समावेश गरिएको छ । जसले गर्दा कलाकारको मेहनत, साधनालाई पनि नजिकवाट नियाल्न सजिलो भएको छ ।

हरेक कलाकारहरुले आ आफ्नो पहिचान बनाउन आफ्नोपना दिनै पर्छ । त्यसो भन्दैमा धर्मशास्त्रको नियमलाई बिगार्नु चाहिं भएन । आफ्नोपना दिने भनेर परम्परागत शैलीको चित्रकलामा आफु मन खुशी कल्पना गरेर चित्र कोर्नु भने भएन । उनी भन्छन् , धर्मशास्त्रको नियमलाई नबिगारीकन अवधारणा पनि संयोजन गर्नु चुनौतीपूर्ण काम हो । भन्छन्, ‘परम्परागत विधाको कला सिर्जना धर्मदर्शन अध्ययनको अवसर हो ।


About an Artist

Samundra Man Singh Shrestha

Email: artsamundra@gmail.com
© Copyright 2022 Museum of Nepal Arts. All Rights Reserved.